बागलुङ, असोज २२ । गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ। ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो। अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन।
भैँसे–दानसिङ सामुदायिक वनका सदस्य झङ्कबहादुर बस्नेतले आगो झन्झन् फैलिरहेको बताए। “आगलागी भएको ठाउँमा म दुईपटकसम्म पुगेँ, धेरै मान्छे नजुटेसम्म आगो नियन्त्रणमा आउने अवस्था छैन”, उनले भने। आगलागी भएको ठाउँमा अहिलेसम्म कोही पनि नआएको उक्त वनका उपभोक्तासमेत रहनुभएका बस्नेतले जानकारी दिए। उनले वर्षौँदेखि वनमा थुप्रिएको सल्ली, खर, सुकेका काठ र पातपङ्तिगरले गर्दा आगो फैलिएको बताए।
ठूलाचौर सामुदायिक वन नजिकको खरबारीमा व्यक्तिले लगाएको आगो वनतिर सरेको स्थानीयवासीले बताएका छन्। आगो कस्ले लगायो भन्नेबारेमा केही थाहा हुन नसकेको जनाइएको छ। आगो लामदारा सामुदायिक वनतर्फ सोझिँदै गएको छ।
समयमा नियन्त्रण नगरे पर्यटकीय लेक घुम्टेको जङ्गतर्फ आगो फैलिने सम्भावना रहेको बताइएको छ। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय हरिचौरमा खबर गरिएको घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापाले बताए। “प्रहरी र स्थानीयवासी मिलेर आगलागी नियन्त्रणको काम तत्काल थाल्नुपर्छ, नत्र रुख, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विनाश हुन सक्छ”, उनले भने। रासस


























