असोज २२ । अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसबिच टेलिभिजन बहसमा कोरोना भाइरसको महामारीलाई लिएर आक्रामक तर्कवितर्क भएको छ।
नेपाली समय अनुसार बिहीबार बिहान भएको उपराष्ट्रपति उम्मेदवारबिचको टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि भएको प्रयास, कर तथा जलवायु परिवर्तनसहितका मुद्दा केन्द्रित भयो। ह्यारिसले अमेरिकाको इतिहासमा सबैभन्दा असफल राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन रहेको आरोप लगाइन्।
माइक पेन्सले डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेनको महामारी नियन्त्रण योजना अहिले आफूहरुले लागु गरेको योजनाकै ‘चोरी’ रहेको आरोप लगाए। अमेरिकामा आउँदो नोभेम्बर ३ मा चुनाव हुँदैछ। पछिल्ला मत सर्वेक्षणहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा जो बाइडेन दोहोरो अंकले अघि रहेका छन्।
सल्ट लेक सिटीमा रहेको युनिभर्सिटी अफ युटमा भएको ९० मिनेटको टेलिभिजन बहसमा चुनाव पूर्व वितरण हुने खोप ‘तपाईँ लगाउनु हुन्छ कि हुँदैन?’ भनेर ह्यारिसलाई सोधिएको थियो।
५५ वर्षकी क्यालिफोर्निया सिनेटर ह्यारिसले स्वास्थ्य विज्ञको स्वीकृति बिना ट्रम्पले भनेको वा सुझाएको खोप आफूले नलाउने जवाफ दिइन्।
ट्रम्पका बफादार पेन्सले सर्वसाधारणको जीवनमाथि राजनीति गरेको आरोप ह्यारिसलाई लगाए। स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु लागु गरि बहस भएको हो। दुई उम्मेदवारको बिचमा सिसाको बार लगाइएको थियो। एजेन्सी


























