काठमाडौं, डा.गोविन्द केसीका माग सम्बोधनका लागि आज वार्ता हुँदैछ। तर, समय भने तय भइनसकेको सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बताए।
‘सरकारले बुधबार अबेर निर्णय गरेकाले समय तय भइसकेको छैन, मैले डा.केसीका प्रतिनिधिसँग पनि कुरा गरिरहेको छु सकभर १ बजे अघि नै नत्र ४ बजेपछि वार्ता गर्छौँ,’ मैनालीले भने। १ बजेदेखि शिक्षासम्बन्धीको सार्कस्तरीय भर्चुअल मिटिङमा सहभागी हुनुपर्ने भएकाले त्यसअघि नै या त ४ बजेपछि वार्ता गर्ने मैनालीले बताए।
२५ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले उहाँका जायज माग सम्बोधन गर्ने प्रतिबद्धतासहित अनसन तोडाउने तयारी भएको उनले बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।
सरकारले वार्ता टोली बनाएको केही समयपछि बुधबार साँझ नै डा केसीका तर्फबाट वार्ता गर्ने समिति बनेको थियो। डा केसीका तर्फबाट डा।जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ।
वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा।लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन्।
सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। लगत्तै सरकारले वार्ता टोली गठन गरेको हो। २५ दिनदेखि अनसनरत डाक्टरको केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको निगरानीमा खटिएका डा।सुवास आचार्यले जानकारी दिए।


























