काठमाडौं, असोज २१ । अनसनरत डा.गोविन्द केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल गरिएको छ। ‘डा.केसीका माग पूरा गराउँदै उहाँको जीवन रक्षा गर्नका लागि देशव्यापी रुपमा नागरिक सत्याग्रह सुरु गर्न अपिल गर्दर्छौ’, सोलिडारिटी फर डा.केसी अलायन्सका संयोजक डा जीवन क्षेत्रीको आग्रह छ।
देशैभरबाट कोभिड विरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ-आफ्नो ठाउँबाट डा.केसीको समर्थनमा सत्याग्रह सुरू गर्न अलायन्सको अपिल छ। अभियानअन्तर्गत अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय विभागका विद्यार्थीहरुको र भोलि पाटन डबलीमा नागरिक सत्याग्रह सुरू हुने जानकारी पनि उनले गराएका छन्।
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा केसीले १९औं सत्याग्रह सुरू गरेको बुधबार २४ औं दिन पुगेको छ। उनको स्वास्थ्य गम्भीर बन्दै गए पनि सरकारले वार्ताको पहल गरेको छैन। सरकार र सत्तारूढ नेकपाले अनसन अन्त्य गर्न आग्रह गरे पनि डा केसीले मानेका छैनन्।


























