असोज १९ । कोरोना भाइरस (कोभिड-१९) को उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना समर्थकहरुलाई अभिवादन गर्न अस्पतालबाट बाहिर निस्किएका छन्।
आइतबार उनी केही समयको लागि कारमा चढेर अस्पतालभन्दा बाहिर स्वास्थ्यलाभको कामना गरिरहेका समर्थकहरुलाई अभिभादन गर्न निस्किएका हुन्। ह्वाइटहाउसका प्रवक्त जु डीरेले केही समयको उनी बाहिर निस्केको र सो अवधिमा संक्रमण सर्न नदिन आवश्यक सतर्कता अपनाइएको बताएका छन्। अस्पतालबाट बाहिर निस्किँदा उनले मुखमा कालो मास्क लगाएका थिए। उनीभन्दा अगाडिको सिटमा पनि दुईजना मानिसहरु बसेका थिए।
ट्रम्पलाई शुक्रबार वाल्टर रीड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनलाई उपचार गरिरहेका डाक्टरले ट्रम्पलाई अक्सिजन दिनुपर्ने अवस्था आएको बताएका छन्। त्यसका साथै उनलाई कोरोनाको उपचारको लागि सहयोग पुग्न सक्ने भनिएका केही औषधि पनि दिइएको छ।
आइतबार सार्वजनिकस्थलमा देखिएसँगै उनको आलोचना भएको छ। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सका अध्यक्ष हकीम जेफ्रिजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई लाख पाँच हजारभन्दा धेरै अमेरिकीको मृत्यु भएको छ। हामीलाई नेतृत्व चाहिएको हो। फोटो सेसन होइन।’
यसअघि ट्रम्पको स्वास्थ्य अवस्था अघिल्लो दिनको तुलनामा झन् खराब बनेको समाचार आएको थियो। यस्तो अवस्थामा ट्रम्प सार्वजनिक स्थलमा निस्किएका हुन्। अलजाजिरा


























