चितवन, असाेज १९ । गोमा दवाडीले बाहिरी संसार देख्न छाडेको पन्ध्र वर्षभन्दा बढी भइसक्यो। भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित बराैँजीमा कुलोको डिलमा सानो छाप्रो छ। त्यही छाप्राेमा छामछाम छुमछुम गर्दै दैनिकी धकेलिरहेका छन् गाेमा र चेतबहादुर दवाडी दम्पती। घर अगाडि बाँसको झ्याङ छ। त्यही बाँसकाे झ्याङले बूढाबूढीकाे चुह्लाे बाल्न केही सहज बनाएकाे छ। आँखा नदेख्ने समस्याकै कारण दाउरा खाेज्न जानसमेत नसक्ने भएपछि भुईँमा खसेको त्यही बाँसका पात बटेलेर खाना बनाउछिन्। कहिलेकसाे छिमेकीले दाउरा सहयाेग गर्छन्। त्यतिबेला गाेमा धेरै खुसी हुन्छिन्। अरुबेला त्यही बाँसकाे सुकेकाे पतिङ्गर ह्वार्र् बालेरै खाना पकाउँछिन्। कतिपय अवस्थामा प्लाष्टिकका बोतल बालेर खाना बनाउँछिन्।
याे परिवारले यसरी नै दिन, महिना हुँदै वर्ष धकेलेकाे धेरै भइसक्याे। एक दिन तरकारी पकाउँदै गर्दा आफ्नै कपडामा आगाे सल्किएछ। संयाेगवस त्यही बेला कान्छी छाेरी आइपुगिन् र उनी दुर्घटना हुनबाट जाेगिइन्। गाेमा परिवारले बाहिरी संसार देख्न नसकेकाे पीडा त छँदैथियाे। त्यहीमाथि रातभर उडुसकाे टाेकाइ सहनुपर्छ। घरमा सरसफाइ गरिदिने काेही छैनन्। पराईघर गइसकेकी छाेरीले दैनिक आएर हेरचाह गर्न सक्ने अवस्था पनि छैन। न त छिमेकीले नै दैनिक हेरचाह गर्न सक्छन्।

दुईछाेरीमध्ये ठूली छाेरी माइत नफर्किएकाे वर्षाैँ बितिसक्याे। सानी छाेरी नजिकै भएकाेले बेलाबखतमा उनैले बुबा-आमाकाे हेरचाह गर्दै आएकी छन्। तर उनको परिवारमा पनि आर्थिक अवस्था कमजोर भएकै कारण समस्यामा छिन्। मनकाे आँखाले संसार नियाल्ने प्रयास गरिरहेकी गाेमा श्रीमान् र छोरीबाहेक बाहिरी मान्छेसँग बाेल्न मान्दिनन्। गाेमा आफू देख्न नसक्ने भए पनि श्रीमान देख्न सक्ने हुँदा केही सहज भएकै थियाे। तर अहिले श्रीमानले पनि देख्न छाडेपछि गाेमा दम्पतीलाई झनै समस्या थपिएकाे छ। कुलाेकाे डिलमा भएकाे छाप्राेमा न त बिजुली बल्छ, न धारामा पिउने पानी नै आउँछ। ज्यादै कष्टकर जीवन बिताइरहेका छन् गाेमा दम्पतीले। उनीहरु हरेक दिन घाम छँदै खाना खाएर सुतिसक्छन्। रात भरी उडुसले टोक्छ।
पैसा नहुँदा उपचार नै पाएनन् चेतबहादुरले
उपचार पाए श्रीमान देख्न सक्छन्। घरमा बुबा-आमा दुवैजना देख्न नसक्ने भएपछि कान्छी छाेरीले जसाेतसाे पैसा जुटाएर बुबाकाे एउटा आँखा अप्रेसन गराइदिएकी छन्। चिकित्सककाे सल्लाहअनुसार उपचार गरे आँखा देख्न सक्ने हुँदा कसैले सहयाेग गरिदिए बुबाकाे अर्काे आँखा पनि देख्ने बनाउने रहर छ। तर पैसा नहुँदा अप्रेसन गर्न नसकिएकाे उनले बताइन्। वृद्ध बा-आमाकाे दुःख बिसाउँदै गर्दा उनले अर्काे समस्या पनि सुनाइन्। ७३ वर्षीया गाेमाले नागरिकता नभएकै कारण अहिलेसम्म सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता)समेत पाउन सकेकी छैनन्।



























