काठमाडौं, असोज १८ । कलाकार जीतु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको थियो। निषेधाज्ञा खुकुलो भएसँगै अब यो शो पुनः सञ्चालनमा आउने भएको छ। स्वास्थ्य सुरक्षा अपनाएर शोलाई फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिएका छन्। शोको ४ भागको छायांकन पूरा भइसकेको छ।
पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा दीपाश्री निरौला थिइन्। तर, दोस्रो सिजनमा उनलाई अभिनेत्री करिश्मा मानन्धरले रिप्लेस गरेकी छन्। लकडाउनमा ठूलो विवादमा तानिएका कारण कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दीपाश्रीलाई हटाइएको र उनको ठाउँमा करिश्मालाई चुनिएको चर्चा छ। तर, यस विषयमा टिमबाट कुनै जानकारी प्राप्त भएको छैन।
करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा आफूले अध्यक्षता ग्रहण गरेको बताएकी छन्। जीतु नेपालको आग्रह नकार्न नसकेर आफू शोमा आबद्ध भएको उनको भनाई छ। उनी भन्छिन्, ‘दीपाजीको विषयमा मलाई थाहा भएन। मलाई जीतु भाईले दोस्रो सिजन हो भनेर प्रस्ताव राख्नुभएको थियो। उहाँ (जीतु नेपाल) सँग मेरो आत्मीय सम्बन्ध भएका कारण शोमा आबद्ध भएँ।’
निर्देशक तथा कलाकार दीपाश्रीले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने घुमाउरो शैलीमा बताएकी छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमा उनले पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिएकी छन्। उनले निकट भविष्यमा केही फरक कार्यक्रमका साथ टेलिभिजनमा फर्किने बताएकी छन्।


























