काठमाडौं, असोज १४ । नेपाली कांग्रेसले सामाजिक दुरी कायम गरेर देशव्यापी आन्दोलन गर्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको उनी निकटका नेताहरुको बैठकले सरकारका पछिल्ला गतिविधिका बारेमा आन्दोलनमा जाने विषयमा छलफल भएको थियो। आगामी १९ गते बस्ने केन्द्रीय समितिको बैठकमा यसबारे प्रस्ताव लैजाने र केन्द्रीय समितिको बैठकले नै आन्दोलनका बारेमा निर्णय लिने सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिए।
बूढानिलकण्ठमा देउवा समूहका नेतामात्रै छलफलमा थिए। बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको ज्ञापनपत्रका बारेमा १९ गते नै जानकारी गराउने पनि निष्कर्ष निकालेको छ। त्यसैगरी केन्द्रीय समितिको बैठकबाटै संसद्को विशेष अधिवेशन आह्वानका लागि सरकारलाई दबाब दिने कार्यक्रम पनि तय गर्नुपर्ने निष्कर्ष देउवा समूहका नेताहरुको रहेको थियो।


























