असोज १४ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको शंकास्पद मृत्युको सीबीआई अनुसन्धानका क्रममा लागूऔषध सेवनको कोण पनि देखिएपछि लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान थालेको थियो।
यसक्रममा अभिनेत्रीहरू दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानले लागूऔषध पाउनका लागि च्याट गरेको भन्दै आरोपमा एनसीबीले सोधपुछका लागि बोलाएको थियो। तर एनसीबीले दीपिका, श्रद्धा र साराविरुद्ध कुनै पनि प्रमाण फेला नपारेको विभिन्न सूत्रहरूले बताएको भनी भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
च्याटमा लागूऔषधका कुरा गर्दैमा मुद्दा चलाउन नमिल्ने, लागूऔषधको मुद्दा चल्नलाई व्यक्तिबाट त्यो बरामद नै हुनुपर्ने भनी वकिलहरुले पनि बताउँदै आएका थिए।
एनसीबीको अनुसन्धानका कारण सुशान्तको छवि खराब बनेको भन्दै अब बिस्तारै पछि हट्न र सीबीआईलाई अनुसन्धान पूरा गर्न दिन माथिबाट दबाब आएको सूत्रहरूले बताएका छन्।
एनसीबीको अनुसन्धानले सुशान्त पनि गँजडी र विलासी मानिस जस्तो देखिएको र उनलाई न्याय दिनबाट वञ्चित गर्ने षड्यन्त्र गरिएको भन्दै उनका प्रशंसकहरूले चर्को आलोचना गरिरहेका थिए। अनि एनसीबीले अभिनेत्रीहरूका विषयमा सूचना चुहाइरहँदा पनि अन्ततोगत्वा सुशान्तकै छविमा आघात पुगेको बुझाइ छ। एजेन्सी


























