काठमाडौं, असोज १३ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको पद्मश्री पुरस्कार तथा सम्मान यसपटक विवादमा परेको छ।
पद्मश्री पुरस्कारबाट पुरस्कृत उपन्यास ‘हंस’का लेखक सञ्जीव उप्रेतीले आफूले अर्का सम्मानित हुँदै गरेका साहित्यकार मोदनाथ प्रश्रितसित पुरस्कारको मञ्च साझा गर्न नसक्ने बताए पछि साहित्यकार मोदनाथ प्रश्रितले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै पद्मश्री सम्मान ग्रहण नगर्ने विज्ञप्ति निकालेका थिए।
त्यस उप्रान्त उपन्यासकार सञ्जीव उपे्रतीले आफूले पद्मश्री पुरस्कार नलिने घोषणा गरेका थिए।
पद्मश्रीबाट पुरस्कृत र सम्मानित दुबै स्रष्टाले पुरस्कार र सम्मान नलिने घोषणा गरेपछि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले मध्यरात एक विज्ञप्ति जारी गर्दै यस वर्षको पद्मश्री पुरस्कार तथा पद्मश्री सम्मान रद्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन्।
प्रतिष्ठानका विज्ञप्तिमा भनिएको छ– ‘वि.स.२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र वि.सं.२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष पनि मिति २०७७/०६/११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ।’
प्रतिष्ठानले यसबाट पर्न गएको असहजताप्रति आफूहरू दुःखी भएको बताउँदै आफ्नो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ। प्रतिष्ठानले नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने पनि जनाएको छ। यसअघि अघिल्लो दिन प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै पद्मश्री पुरस्कार हंसका उपन्यासकार सञ्जीव उप्रेतीलाई तथा पद्मश्री सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो।


























