टीका खतिवडा, मङ्गलबारे, असोज १२ । सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ। अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि छ। तर हाम्रो देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेशामा नै रहेको भए पनि कृषकको सम्मान र यस पेशा प्रतिको आकर्षण भने घट्दो छ। जसका कारण बिहानदेखि बेलुकासम्म खेतबारीमा काममा खट्ने या दैनिक गाईवस्तुको स्याहार गर्ने मानिसको कमी हुँदै गएको छ। तर इलाम सन्दकपुर गाउँपालिकाका तारामणि खतिवडा भने यो मान्यताभन्दा पृथक छन्। उनी सरकारी जागिर छोडेरै व्यावसायिक कृषि पेशामा संलग्न भएकाछन्। खतिवडाले सर्वोच्च अदालतको जागिर छोड्दा धेरैले बिग्रियो पनि भने। नायब सुब्बा पदमा कार्यरत उनले जागिर छोडेरै किवी फल खेतीमा लाग्ने सोच बनाए। विसं २०६४ देखि सो खेतीमा लागेका उनले जागिरबाट भन्दा धेरै आम्दानी गरेको बताए।
“ऊ बेलाको नायब सुब्बा पद बढेर हाल माथिल्लो पद पुगिन्थ्यो होला, कमाई पनि मासिक रु ५० हजारको हाराहारीमै हुन्थ्यो होला, तर त्योभन्दा धेरै माथिको छ मेरो अहिलेको कमाई”, उनले भने। कृषक खतिवडा आफूमात्र नभएर सो पेशामा धेरैलाई संलग्न गराएकाछन्। शुरुमा किवी फल के हो ? यो कहाँ राम्रो फल्छ ? भन्नेसम्म जानकारी नपाएकाहरुले हाल व्यावसायिकतासँगै राम्रो आम्दानीको स्रोतसमेत बनाएका छन्।
काठमाडौंमा सरकारी जागिर छोडेर खतिवडाले ललितपुरमा नै कृषिमा काम गर्ने सोच बनाए तर पछि भने आफ्नै जन्मथलोमा फर्किएर कृषि कर्ममा लागेको उनले बताए। हाल सोही पेशामा आफ्ना भाइ, भतिजहरुलाई पनि संलग्न गराएकाछन्। सँगैका दाजुभाइ एवं गाउँलाई नै किवीमय बनाउने काममा उनकै हात रहेको सन्दकपुर तिनका ठाकुर खतिवडाको भनाइ छ।
विसं २०७३ मा सर्वोच्च अदालतबाट कार्यालय समयभन्दा केही समयअगाडि निस्किएर पसलमा जाँदा नयाँ फल देखेपछि उनले रु २२५ मा तीन दाना किवी खरिद गरेको बताए। फल मीठो भएपछि अर्को दिन सोही ठाउँमा गएर किवी लिएर आए र यससम्बन्धी जानकारी खोज्न थाले। इन्टरनेट र विभिन्न माध्यमबाट किवीसम्बन्धी जानकारी खोजी लिएर जन्मथलो फर्किएका उनी गएको दश वर्षदेखि यही खेतीमै छन्।
सन्दकपुर गाउँपालिका–३ तालगाउँमा करीब ५० घरपरिवार खतिवडाको बस्ती छ। साबिक सुलुबुङ्ग गाविस–५ मा तीन घरबाहेक सबै परिवार खतिवडाकै बस्ती छ। पहिले खतिवडा बस्ती भनिने यो तालगाउँलाई आजकल किवी बस्तीको नामले पनि चिन्न थालिएको छ। किवीलाई इलाममा तारामणि खतिवडाले नै भित्र्याएको भने होइन। तर किवीलाई एक ब्रान्डका रुपमा विकास गर्न उनको भूमिका महत्वपूर्ण छ।
सो स्थानमा मात्र नभएर सन्दकपुर गाउँपालिकासँगै जिल्लाका सबै स्थानीय तहमा धेरैले व्यावसायिक खेती गरिरहेका छन्। पाँचथर, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटालगायत जिल्लामा समेत इलामबाट नै किवीका बिरुवा लगेर रोप्न शुरु गरिएको छ।
किवीका बिरुवा, दाना र प्रशोधन गरिएका वस्तुहरुबाट राम्रो आम्दानी हुने गरेको किसान ठाकुर खतिवडाको भनाइ छ। उनले यस वर्ष बेच्न करीब १० लाखका बिरुवा ठिक्क पारेको बताए। किवी र त्यसबाट बनेका परिकार ‘धरानमा इलाम’ नामक एक कार्यक्रममा बिक्री गरेपछि हौसला प्रदान भएको बताए। विगत वर्ष धरानमा किवी र यसका परिकार बेच्न थालेपछि लकडाउनकै बीचमा पनि धेरै फोन आएको उनले बताए। यस वर्ष आफैँ जानु नपर्ने र फोन सम्पर्कबाट नै धेरै बिक्री गर्न सकिने लक्ष्य रहेको उनले बताए। उनले घरमै बसेर किवी बेच्न सकिने बताए।
सोही ठाउँमा रुद्र खतिवडाले गएको वर्ष १० लाखभन्दा बढीको बिरुवामात्र बेचे। उनले यस वर्ष विगतभन्दा दोब्बर बिरुवा बेच्ने लक्ष्य राखेकाछन्। उनको समय किवीको स्याहारसुसारमा नै बित्ने गरेको छ। कोरिया जाने लक्ष्यका साथ कोरियाली भाषा पढे पनि अब कोरिया जति कमाई नेपालमा नै बसेर गर्न सकिने उनको भनाइ छ। उनी घरमै बसेर कमाउन सक्ने भएपछि किन विदेश जानु भने।
किवीको बिरुवा प्रतिगोटा रु एक सयदेखि तीन सयसम्म पर्दछ। जातअनुसार बिरुवाको मूल्य फरक पर्ने किसानको भनाइ छ। किवी बहुवर्षे बिरुवामा पर्छ। एक पटक रोपेपछि २० वर्षभन्दा बढी आम्दानी लिन सकिने यससँग संलग्न किसानको भनाइ छ।
किवी खेती बढ्दै गएपछि सरकारले सन्दकपुर गाउँपालिकामा किवी जोन नै घोषणा गरेर यस खेतीलाई विस्तार गर्ने काम गरिरहको छ। किवी जोनमार्फत किसानले अनुदानमा उपकरण र बिरुवा पाउने गरेका छन्। इलाममा उत्पादित किवीका बिरुवा नेपालभर नै बिक्री भइरहेको छ। नेपालमा प्रायः एलिसन, हेवार्ड, रेड (रातो) किवी मन्टी, सोयु ब्रुनोलगायत जातका किवी पाइन्छन्। जातको किव समेत पाइने गरेको छ।
किवीबाट किसानले फल र बिरुवाबाट उत्तिकै आम्दानी लिने गरेका छन्। दुवैबाट उत्तिकै आम्दानी हुने भएपछि पनि किसानले यसको व्यावसायिक खेती गरिरहेका छन्। लहरा प्रजातिको किवीको सामुद्रिक सतहदेखि एक हजार ४०० मिटरदेखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिने बताइएको छ।
किवीलाई नेपालमा महङ्गो फलका रुपमा लिइन्छ। शुरुमा प्रतिकिलो रु छ सयदेखि एक हजारसम्म किनबेच भएको किवी हाल सस्तो बन्दै गएको छ। हाल प्रतिकिलो रु डेढ सयदेखि तीन सय सम्ममा किनबेच भइरहेको छ।
एउटै फलमा धेरै फलफूलको स्वाद पाइने र धेरै पौष्टिक तत्व पाउन सकिने भएकाले यो फलको महत्व बढेको किसान बताउँछन्। अण्डा आकारको यो फल लहरामा झुण्डिएर फल्दछ। एकथरी किवीमा बाहिर झुसजस्तो हुन्छ भने रातो किवीको बोक्रा भने चिल्लो हुन्छ। काट्दा भित्र हल्का हरियो भएको किवीलाई ‘ग्रिन’ अर्थात् हरियो किवी भनिन्छ। काट्दा भित्र रातो देखिने किवीलाई ‘रेड’ किवी भनिन्छ। रेड किवी दुई वर्षअघि देखि मात्र नेपालमा पाउन थालिएको हो। किवीमा गुलियो र अमिलो स्वादको मिश्रण पाइन्छ। पोषिलो र औषधीय गुण रहेको र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले पनि यो फल नेपालमा लोकप्रिय बन्दै गएको किसान बताउँछन्। रासस


























