चितवन, असाेज ११ । पटिहानीमा ‘छितामाई साइकल ट्रेल’काे उद्घाटन गरिएकाे छ। आइतबार चितवन साइकल राइडर्स क्लब र उद्याेग वाणिज्य संघ चितवनले विश्व वातावरण दिवस-२०२० काे अवसरमा साइकल यात्रा गर्दै पटिहानी पुगेर साइकल ट्रेलकाे उद्घाटन गरिएकाे हाे। साइकलकाे प्रयाेगबाटै पर्या-पर्यटनलाई प्रचारप्रसार गर्ने उद्धेश्यले दिवसकाे अवसर पारेर नारायणगढबाट पटिहानीसम्म साइकल यात्रा आयाेजना गरेकाे हाे।
साइकल ट्रेलकाे उद्घाटन गर्दै उद्याेग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले वातावरण संरक्षण र मानव स्वास्थ्यमा साइकलले ठूलाे मद्धत पुगेकाेले यसकाे विकास र संरक्षण आवश्यक रहेकाे बताए। राइडर्स क्लबले भने विगत लामाे समयदेखि नै चितवनमा साइकल लेनसहितकाे सडक निर्माण गर्न स्थानीय सरकारलाई दबाब दिँदै आएकाे छ। भाैगाेलिक अवस्थितिअनुसार साइकल लेन आवश्यक रहेकाेले सबै स्थानीय तहले यसबारे ध्यान दिनुपर्ने क्लबका अध्यक्ष नवीन खरेलले बताए।
पटिहानी क्षेत्रलाई पर्यटकीय गन्तव्यकाे रुपमा विश्वसामु चिनाउनकाे लागि साइकल राइडर्स क्लबले विशेष भूमिका खेल्दै आएकाे पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले बताए। हरेक वर्ष साइकल यात्राबाटै पटिहानी क्षेत्रकाे विकासमा सहयाेग गर्दै आएकाे उनले बताए। जिल्लाका हरेक क्षेत्रले यसरी नै सहयाेग गरे पटिहानी क्षेत्रलाई देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यकाे रुपमा तीव्र गतीमा विकास गर्न सकिने उनकाे भनाइ छ।


























