काठमाडौं, असोज ११ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रामक अन्तरवार्ता दिएको अभियोगमा समातिएका व्यक्ति छुटेका छन्।
आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई अफवाह फैलाएको कसुरमा धरौटी लिएर छाड्न जिल्ला प्रशासन कार्यालय, ललितपुरले आदेश दिएको हो।
प्रशासनको आदेश अनुसार ५ हजार रुपैयाँ धरौटी लिएर उनलाई छाडिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले २२ भदौमा पक्राउ गरेको थियो।
ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको थियो। पक्राउ पर्नुअघि उनले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए ।
Facebook Comments


























