काठमाडौं, असोज ११ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार प्रदेश नं १ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भारतको बिहारमा बनेको न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आइतबार प्रदेश नं १ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए। ‘आज बेलुकादेखि यी प्रणाली पूर्णरुपमा हटेर जाने छ’, मौसमविद् श्रेष्ठले भने।
यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ। यस अवधिमा कुनै नयाँ प्रणाली विकसित नभए झरी तथा ठूलो पानी पर्ने सम्भावना नरहेको बताइएको छ।
अहिले प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रही एक वा दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस रहेको छ।


























