काठमाडौं, असोज ११ । विश्व पर्यटन दिवस, आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष कोरोना महामारीका कारण विश्वकै पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ।
त्यसैले सामूहिक तथा औपचारिक कार्यक्रम बिना नेपालमा पनि यो दिवस मनाइँदैछ। पर्यटनसँग सम्बन्धित विषयमा विभिन्न संघसंस्थाले भर्चुअल कार्यक्रमहरु गर्दैछन्। पर्यटन विभागले अहिले बिहान काठमाडौंको चोभारमा वृक्षारोपण कार्यक्रम राखेको छ।
दिउँसो पर्यटन क्षेत्रमा योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मानको घोषणा गरिने, मन्त्रालयमा विभिन्न हेरिटेजका विषयमा भर्चुअल छलफल हुने पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए।
कोरोनाका कारण नेपालका पर्यटकिय क्षेत्रहरु सुनसान छन्। नेपालले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेपनि २०१९ कै अन्त्यमा कोरोनाको महामारी शुरु भएपछि कार्यक्रम गदै स्थगित गरेको छ। कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न योजनाहरु बनाउँदैछ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा लैजाँदैछ। संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आव्हानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाईदै आएको छ। १९८० देखि सेप्टेम्बर २७ मा यो दिवस मनाउन थालिएको हो।
यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले आगामी समय पर्यटन क्षेत्रका लागि अनुकुल रहने विश्वास ब्यक्त गरेका छन्। उनले सरकारले पर्यटनको नवीनतम र दिगो गन्तव्हरुको पहिचान गरी पूर्वधार विकासका साथै स्थापित गन्तव्यको संरक्षण र प्रवद्र्धनका काम गरिहेको उल्लेख गरेका छन्।


























