दार्चुला, असाेज १० । स्थायीरुपमा संरचना निर्माण नभए पनि सशस्त्र प्रहरीकाे गुल्म दार्चुलाकाे छाङरुमा बसाउने भएकाे छ। स्थायी संरचना नभए पनि हाललाई भाडाकै घरमा बस्ने गरी सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास बस्ने गरी स्थापना गर्न लागेकाे हाे। सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने दाबी गरे। ‘हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किँदैन,’ उनले भने। शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका हुन्।
सशस्त्र प्रहरीले छाङरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको छ। यस क्षेत्रमा गुल्म स्थापना गर्नकाे लागि १० करोड रुपैयाँ बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ। ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ। ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ। बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले जानकारी दिए। १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन्। उनका अनुसार तीन तलाको ब्यारेक भवन निर्माणको योजना छ।
गत बैशाख ३१ गते व्यासको छाङरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) बसेको थियो। असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयानुसार व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो। सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ।
इमान्दारितापूर्वक काम गर्न निर्देशन
सशस्त्र प्रहरी प्रमुख खनालले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन्। व्यासको छाङरु र तिंकर क्षेत्रको निरीक्षण भ्रमणपछि सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणमा मातहतका कर्मचारीलाई निर्देशन गर्दै खनालले सशस्त्र प्रहरीको जिम्मेवारीअनुसार इमानदारितापूर्वक काम गर्न निर्देशन गरेका हुन्।
सीमाका जनताको समस्या समाधान गर्न सांसदकाे आग्रह
सांसद गणेशसिंह ठगुन्नाले सीमाका जनताको समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन्। सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा उनले सीमा क्षेत्रका नागरिकको समस्या समाधानमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेका हुन्। व्यासको छाङरु क्षेत्रको निरीक्षणबाट फर्किएपछि उनले सीमामा रहेका जनताको समस्या समाधानका लागि सरकारले जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुपर्ने बताए।
– रासस


























