दार्चुला, असाेज १० । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो। भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो। चार महिनाभन्दा बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो। मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए।
‘भीर फुटाएर ट्र्याक खुलाइएको छ,’ उनले भने, ‘सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ।’ यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ। व्यासको छाङरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन्। व्यासको छाङरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ। चट्टानी भूगोलले केही ढिलाइ भए पनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का हरकसिंह कार्कीले बताए। घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उनले बताए।
घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ। त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किएका कार्कीले जानकारी दिए। तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन्। तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन। यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने उनले बताए। यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ। कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ। सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उनले बताए।
तम्बाकुभन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन्। घोडेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्ने गरी तयारी भइरहेको प्रवक्ता पौडेलले बताए। सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उनले बताए। ‘अहिले परामर्शदातामार्फत अध्ययन भइरहेको छ,’ उनले भने। सो सडकखण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम शुरु गरेको छ। सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डीपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ।
महाकाली नदी किनारैकिनार सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन्। यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ। कैलाश पर्वत दर्शन, चीनसँगको व्यापार, अपि हिमाललगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन्। ‘अहिले बाटो नहुँदा छाङरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका मानिस पनि गाउँ फर्किन पाएका छैनन्,’ व्यास-१ का स्थानीय जगदीशप्रताप ऐतवालले भने, ‘चाँडो बाटो निर्माण भयो भने स्थानीयवासीलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुन्छ।
व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन्। अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्मसमेत बसेको छ। बाटो नभएकै कारण सशस्त्र प्रहरीले नेपालकै बाटो भएर खाद्यान्न ढुवानी गर्न हेलिकप्टर कुर्नुपरेको छ। – रासस


























