दार्चुला, असोज ९ । गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो उक्त क्षेत्र गएका हुन्।
सशस्त्र प्रहरी बल गुल्म नम्बर ५० को भवन शिलान्यास गर्न गृहमन्त्री थापा छाङरु गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गृहमन्त्रीसँगै त्रिदेशीय सीमा क्षेत्र छाङरु जानेमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन्। दिउँसो साढे १२ बजे दार्चुला पुगेको गृहमन्त्रीको टोली १० मिनेटपछि छाङरु प्रस्थान गरेको हो।
असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई व्यास गाउँपालिका–१ छाङरुमा सार्ने निर्णय गरेको थियो।


























