हेटौंडा, असोज ७ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको एक स्कार्पियो जीप पहिरोमा पुरिएको छ। पहिरोमा एउटा अर्को मोटरसाइकल पनि पुरिएको जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुलेखानी–भीमफेदी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ देउरालीमा स्कार्पियो जीप पहिरोमा पुरिएको हो। मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलकुमारसिंह राठौरले गुडिरहेको बा १७ च ४८७४ नम्बरको जीपलाई पहिरोले पुरेको जानकारी दिए।
पहिरोमा नम्बर नखुलेको अर्को एउटा मोटरसाइकल पनि पुरिएको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ। घटनाको विषयमा जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको एसपी राठौरले जानकारी दिए।
जीप ठूला–ठूला ढुङ्गाले च्यापिएको अवस्थामा रहेको र उद्धारमा केही कठिनाइ उत्पन्न भएको एसपी राठौरले बताए। जीपका चालक भीत्रै च्यापिएको अवस्थामा देखिएका एसपी राठौरको भनाइ छ।
जीपमा अन्य कति जना यात्रु थिए भन्ने विषय खुल्न सकेको छैन। यस्तै, पुरिएको मोटरसाइकल र त्यसमा चालक तथा सवार व्यक्तिको विषयमा पनि केही खुलेको छैन। काठमाडौंबाट हेटौंडा जाँदै गरेको जीप बुधबार बिहान करिब १० बजेतिर पहिरोमा पुरिएको सूचना प्राप्त भएको मकवानपुर प्रहरीको भनाइ छ।

























