काठमाडौं, असोज ७ । पुराना राजनीतिज्ञ यज्ञप्रसाद आचार्यको ८७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह, हृदय तथा मृगौलासम्बन्धी रोगबाट पीडित आचार्यको मंगलबार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो।
किशोर अवस्थामा वामपन्थी राजनीतिक धारमा आबद्ध आचार्य वि.सं २०१३ मा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संघको संस्थापक सभापति थिए।
कम्युनिस्ट पार्टी परित्याग गरेर आचार्य राजपरिषद स्थायी समिति सदस्य, पञ्चायत नीति तथा जाँझबुझ समितिको सदस्य, गाउँ फर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनको सभापति, राजसभा स्थायी समितिको सदस्य, राष्ट्रिय विकास परिषद सदस्य, त्रिविवि सिनेट सदस्य लगायतका विभिन्न जिम्मेवारीमा रहेका थिए।
बनारसमा अध्ययनरत रहँदा बनारस हिन्दु विश्वविद्यालयबाट प्रकाशित छात्रवाणीको सम्पादक भई पत्रकारिता शुरुवात गरेका आचार्य नवजागरण र द हिमालयन करेन्ट साप्ताहिकको प्रधान सम्पादक, प्रकाशक समेत रहेका थिए। अखिल भारत नेपाली राष्ट्रिय विद्यार्थी फेडरेसनको सभापति समेत भएका थिए।
वि।सं १९९० मा धनकुटाको छथर, तेलिया पिप्लेमा जन्मेका आचार्यले प्रजातन्त्रोत्तर नेपालको परराष्ट्र नीति, मुक्तात्मा कथा संग्रह, फ्युजनको जगमा शिलान्यास, मुक्तात्मा कथा संग्रह दोस्रो संस्करण ९२०६९० र जे देखें जे भोगें नामक आत्मवृतान्त प्रकाशित गरेका छन्।
आचार्य राप्रपाका केन्द्रीय सदस्य सुरेश आचार्यका पिता हुन्। उनका १ श्रीमती, ३ छोरा र १ छोरी छन्।


























