काठमाडौं, असोज ७ । महानगरीय प्रहरी वृत्त बौद्धले दुर्लभ वन्यजन्तु सुन गोहोरोसहित दुईजनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानीमा चकलेटको बट्टा भित्र लुकाई राखेको वन्यजन्तुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा ६ घर भई मुलपानी बस्ने वर्ष २१ का विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय सुवास तामाङ रहेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिए।
पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि मंगलबार जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको कार्कीले बताए। प्रहरीले बरामद गरेको डेढ इन्च लामो ज्यूँदो उक्त सुन गोहोरो वनले संरक्षित तथा दुर्लभ वन्यजन्तु भित्र पर्ने बताएको छ। वन कार्यालयले थप अनुसन्धान पश्चात कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।


























