चितवन, असोज १ । बर्सातको समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन्। निषेधाज्ञाको समयमा दुःख परेकाहरुलाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर बनाउन शुरु गरेको हो।
खैरहनी नगरपालिका–८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले कालिका नगरपालिका–५ मा घर बनाइदिन शुरु गरेकाहुन्। गजुरेलले भने “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको विजोग अवस्था देखेर हामीले सहयोग जुटाएर घर बनाउन थाल्यौँ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाको बारेमा लेखेपछि गजुरेलसहितका अगुवा समूहले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गर्यो। बिनामास्क माग्दै हिँडेपछि स्थानीय त्रसित भएका थिए।
गजुरेलले थने “लाठीले बोरा अड्याएर मुसलधारे वर्षामा बसेको देखेर हामीले शुरुमा त्रिपाल, म्याट र टर्चलाइट दियौँ।” पछि मन नमानेर घरै बनाउन सहयोग जुटाउन थालेको उनको भनाइ छ। दुई बहिनीकै थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिन शुरु गरेको छ। हालसम्म रु दुई लाख ५० हजार सङ्कलन भइसकेको उनले जानकारी दिए। टिनले छाएको घर सम्पन्न हुन रु तीन लाख ५० हजार लाग्ने अनुमान गरिएको छ।
गत भदौ २८ गतेदेखि स्थानीयवासीसँगै अगुवाहरुले श्रमदान शुरु गरेका थिए। हालसम्म डिपीसीको काम भइसकेको भन्दै उनले सहयोग जुटिरहेको र छिट्टै घर सम्पन्न हुने विश्वास व्यक्त गरे। जापानको योकायामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले आफूले रु एक लाख ४० हजार र साथीभाइसँग रु ६७ हजार २०० सङ्कलन गरी पठाइसकेकाछन्। अमेरीकामा रहेकी जयन्ती थापाले घर बनेपछि कपडाका लागि रु १५ हजार पठाइसकेकी छिन्।
अन्य व्यक्तिले पनि पठाउने क्रम जारी रहेको छ। गजुरेलका अनुसार दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विहे भएको भए पनि श्रीमान्ले छोडेपछि स्थानीयवासीको गाईभैँसी चराउने काम गरेका थिए। जसको पिँढीमा बस्न पाइन्छ त्यहीँ बस्ने खाने गरेका उनीहरु पछिल्ला दिनमा बेसहारा भएर त्यहाँ बोराको ओत लागेर बसेका थिए।
उनीहरू बसेको जग्गा ती दुई बहिनीमध्ये एकको श्रीमान् रहेको र उनी गैँडा तस्करीको अभियोगमा कारागारमा भएकाले उनीहरुको पनि रेखदेख गर्ने अवस्था नरहेको गजुरेलको भनाइ छ। रासस
–––


























