सुर्खेत, भदौ ३१ । सल्यानमा आज भएको बस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।
भोटेचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ७ ख १८४६ नम्बरको बस छत्रेश्वरी गाउँपालिका–६ स्थित भूमेश्वर जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा दार्मा गाउँपालिका–६ का भक्त केसी र नेत्र मल्ल, छत्रेश्वरी गाउँपालिका–५ का गाडीका सह–चालक भीमार्जुन केसी, वडा–६ का नवीन घर्ती, अपेक्षा केसी घाइते भएका छन्।
घाइते अन्यमा तोरन सार्की, कृष्ण चलाउने, विजय विक, खिमलाल नेपाली, सन्तोष नेपाली, वडा–७ का राधिका खड्का र भूमिका खड्का, बागगचौर नगरपालिका– ६ का पदम वली र कैलाली जानकी गाउँपालिका–५ का अमृत चौधरी र सुस्मिता चौधरी छन्।
घाइतेहरुको श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए। बस सडकबाट २० मिटर तल खेतमा खसेको छ।


























