चितवन, भदाै ३० । साेमबार राति आएकाे पहिराेका कारण पत्रकार चित्रबहादुर गुरुङसहित इच्छाकामना गाउँपालिका वडा नम्बर-६, पाँच किलोका आठ घरपरिवार विस्थापित भएका छन्। राष्ट्रिय आधारभूत विद्यालयबाट बग्दै आएकाे पहिराेले नारायणगढ मुग्लिन सडककाे छेवैमा रहेकाे बस्तीमा क्षति पुर्याएकाे हाे। घरभित्रै हिलाे पसेपछि विस्थापित परिवार सुरक्षित स्थानमा बसेका छन्। पहिराेले दुई वटा माेटरसाइकल, एक/एकवटा म्याजिक भ्यान र बलेराेसमेत बगाएकाे छ। पत्रकार गुरुङ तमू संचारकर्मी संघका केन्द्रीय सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) चितवनका कार्यसमित सदस्य तथा छ्याजालो न्यूजका अनलाइन र इच्छाकामना न्यूज डटकमका सञ्चालकसमेत हुन्।
इलाका प्रहरी कार्यालय मुग्लिनले भने चारकिलाेमा ठूलाे पहिराे गएका कारण घटनास्थलतर्फ जान नसकेकाे जानकारी गराएकाे छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक कञ्चन खनालका अनुसार चारकिलाेमा साेमबार बिहानैदेखि पहिराेका कारण बाटाे अवरुद्ध बनेकाे छ। पञ्छाउने प्रयास हुँदाहुँदै साेमबार राति फेरि पहिराे खसेपछि बाटाे थुनिएकाे हाे। माैखिक रुपमा घटनाबारे जानकारी आए पनि घटनास्थलकाे विवरण बुझ्न बाँकी रहेकाे उनले बताए। वास्तविकता बुझ्न पत्रकार चित्रबहादुर गुरुङलाई सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेकाे छैन।


























