टोकियो, भदौ २९ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको स्थानमा योशिहिदे सुगालाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ।
सुगाले सत्तारुढ दलका सांसद र क्षेत्रीय प्रतिनिधि गरी जम्मा ५३४ मतमध्ये ३७७ मत आफ्नो पक्षमा पारेका थिए। जसअनुसार यदी अन्य चमत्कार नभएमा यही बुधबार संसदमा सुगा औपचारिक रुपमा प्रधानमन्त्री बन्ने छन्।
७१ वर्षीय सुगाले आफ्नो कार्यकालमा आबेका नीतिलाई निरन्तरता दिने बताएका छन्। साथै उनले पार्टीले आफूलाई चयन गरेकोमा धन्यवाद दिए। ‘कोरोनाभाइरसको यो राष्ट्रिय संकटमा हामीले राजनीतिक रिक्तता वहन गर्न सक्दैनौँ,’ सुगाले भने।
साथै यो संकटबाट मुक्ति पाउन र जापानी जनतालाई राहत दिन आबेका नीतिलाई लागु गर्नुपर्ने उनको भनाइ छ। यसअघि पनि सुगाले प्रधानमन्त्रीको पदका लागि दावेदारी दिएका थिए। यस पटक सुगासँग पूर्व रक्षामन्त्री शिगेरु इशिबा र एलडिपी नीति प्रमुख फुमियो किशिदा प्रतिष्पर्धीको रुपमा थिए।
आबेले आफ्नो ८ वर्षको कार्यकालमा सुगाको सम्पूर्ण साथ र समर्थन पाएका थिए। यस्तै आबेले यस पटक सुगालाई पूर्ण रुपमा समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै सुगासँग राष्ट्र र जनताको लागि कडा मेहनत गर्ने क्षमता भएको बताए। एजेन्सी


























