काठमाडौं, भदौ २७ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनैजना मृत अवस्थामा भेटिएको घटनामा अनुसन्धान गरिरहेको प्रहरीले शंकाको तीर मृतकतिर नै सोझ्याएको छ।
मृतकमध्ये ३६ वर्षीय सुदीप अधिकारीले नै श्रीमती र छोराको पनि हत्या गरेर आफैँ पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनले केही दिनअघि श्रीमती र छोराको हत्या गरेर त्यसको केही दिनपछिमात्र आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उनकी श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको फोन गत सोमबारदेखि नै सम्पर्कभन्दा बाहिर रहेकाले प्रहरीले घटना केही दिनअघि नै भएको हुनसक्ने आशंका पनि गरेको छ। गत सोमबार सम्झना र सुशान्तको फोनमा अन्तिमपटक सम्पर्क भएको थियो।
घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखालगायतले अनुसन्धान गरिरहेका छन्। घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको थियो।
भुइँतलासहित चार तलाको घरको दोस्रो, तेस्रो र चौथो तलामा एक–एक वटा शव भेटिएको छ। सबैभन्दा माथिको तलामा सुदिपको शव छ। दोस्रो तलाको बाहिर कुकुर पनि मरेको अवस्थामा भेटिएको छ। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार आमा र छोराको शव गन्हाउन थालेको अवस्थामा भेटिएको थियो भने बुबाको शव भने एक–दुई दिनअघि मात्र मृत्यु भएको जस्तो देखिने अवस्थामा छ। सुदीप केही समययता डिप्रेसनमा रहेको पनि पारिवारिक स्रोतले जानकारी दिएको छ।
‘शवको प्रकृति हेर्दा आमा–छोराको ५/६ दिन अघि नै मृत्यु भएको जस्तो देखिन्छ। सुदिपको मृत्यु भएको एक दुई दिन मात्र भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्। प्रहरी अधिकारीका अनुसार घरको कुनैपनि ढोका लगाइएको थिएन, ढप्क्याइएको मात्र थियो।


























