काठमाडौं, भदौ २६ । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए ।
मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन्। उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो। ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो।
त्यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो। मेगा अस्पतालमा भर्ना गरिएका कैदी अन्य रोगबाट पनि पीडित थिए। केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जनाले कोरोना भईरसलाई जितेका छन्।
संक्रमितमध्ये केही कैदीलाई किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलनमा र केहीलाई केन्द्रीय कारागारभित्रको अस्पतालमा आईसोलेशनमा राखेर उपचार गरिएको जेलर बाँस्कोटाले बताए।


























