काठमाडौं, भदौ २६ । नारायणी डेभलपमेन्ट बैंकले १८ औं वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ। सभा स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउसो १ बजे सुरु हुनेछ। सभामा बैंकले १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ। बैंकले यसअघिकै सभाले नै पारित गरिसकेको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिएको हो। यस बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिंदैछ।
त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनसहित २०७६ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ। आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गर्दैछ।
हाल बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ छ। हकप्रद जारी गरेपश्चात बैंकको पुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ। केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले हकप्रद जारी गन लागेको हो। केन्द्रिय बैंकको निर्देशनअनुसार जिल्ला स्तरिय ’ख’ वर्गका विकास बैंकले चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ।
सभा प्रयोजनको लागि बैंकले असोज ८ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गर्नेछ। यसर्थ, असोज ७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन्। नेपाल राष्ट्र बैकले केही समयअघि मात्र नारायणी डेभलपमेन्टलाई समस्याग्रस्त सुचीबाट हटाएको थियो।


























