चितवन, भदौ २५ । युवा गीतकार एवम् गजलकार दिग्गज धौराली कोरोना कहरकै बीचमा दर्शक स्रोतासमक्ष नयाँ सांगितिक कोशेलीको साथमा झुल्किएका छन्। यसअघि ‘रहर छ सँगै हुने तिमीसँग’, सैबा होइ सैबा’ ‘कहाँ छ र जिन्दगीको भर तिमीबिना’, ‘सँगै जिउने सँगै मर्ने’, ‘सक्दिनँ कि बाँच्न’लगायतका चर्चित गीत सिर्जना गरिसकेका धौरालीले कोरोना कहरकै बीचमा नयाँ गीत ‘लिन आउँछु भन्थ्यौ’ बजारमा ल्याएका हुन्।

अर्जुन पोखरेलको संगीतमा तयार भएको उक्त गीतमा हाल अमेरिका बस्दै आएकी गायिका उर्मिला लाम्गादेले स्वर भरेकी छन्। केही टेलिफिल्ममा काम गरे पनि उनले पहिलोपटक गीत रेकर्ड गराएकी हुन्। गीतकाे शब्द, संगीत, गायन र भिडियाे निकै गुणस्तरीय बनेकाेले गीत चल्नेमा आफू आशावादी रहेकाे गायिका उर्मिलाकाे विश्वास छ। दाेशबाहिर बसे पनि नेपाली गीतसंगीतमा सानैदेखिकाे रुचि भएकाेले गायन क्षेत्रतर्फ पाइला सारेकाे उनकाे भनाइ छ।
गीतको म्युजिक भिडियोमा भने पूजा शर्मा र राज कटुवालले मस्ती मारेका छन्। लोकलयमा बनेको गीत बिहीबार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। भिडियोमा कविराज गहतराजको निर्देशन, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ। गोरखाको मिरकोटमा जन्मिएका गीतकार धौराली हाल शिक्षण पेसामा आवद्ध छन्। फुर्सदको समयमा उनी गीत र गजल लेखनमा समय बिताउँछन्। उनका यसअघि लोकगीत अन्तर्गत तीज, रोइला, झ्याउरे र दोहोरी जस्ता गीत पनि बजारमा आइसकेका छन्।

दुईवटा गीत ल्याउने तयारीमा रहेका धाैरालीका लाेक, दाेहाेरी, गजल र चलचित्रका गरी तीन दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन्। उनका अधिकांश गीतमा संगीतकार अर्जुन पाेखरेलले संगीत दिएका छन्। लकडाउनकाे फुर्सदमा एक दर्जन गीत लेखेका छन्। सिर्जित गीतलाई बिस्तारै दर्शक स्राेतासमक्ष पस्कँदै जाने उनले बताए।


























