काठमाडाैं, भदाै २४ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन्। सेन्टरका प्राडा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छिनिएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल भएकाे हाे। सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छिनिएको दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको उनले जानकारी दिए।
सेन्टरले बिरामीका औँलाले पूर्णरुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उनले बताए। दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे उनकाे दाहिने हत्केला पूरै छिनेर दुई टुक्रा भएको थियो। डा पाैडेलका अनुसार उनी हात छिनिएको एक घण्टामा अस्पताल पुगेका थिए। ‘त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले हात जोड्ने काम गरेको हो,’ उनले भने, ‘१० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ।’
फरक खालकाे बिरामी अस्पताल आएपछि चिकित्सकको समूहले साेही दिन साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको उनले बताए। यसअघि औँला जोड्ने गरिएका पनि हत्केला जाेड्ने काम भने पहिलो पटक भएकाे उनकाे भनाइ छ। बिरामीकाे हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो। शल्यक्रियामा प्रा डा दाहालसहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने (प्लाष्टिक सर्जन), डा कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँललगायतका विशेषज्ञहरु सहभागी थिए। बिरामी सिंह हाल साउन २२ गते नै डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै फिजियोथेरापीमा फिजियो गराइरहेको अस्पतालले जनाएको छ। – रासस


























