नारायण अधिकारी, आफ्नै दाइलाई कोरोना सङ्क्रण पुष्टि भएपछि चितवनका पत्रकार वसन्त ढुंगाना पनि दाजुसँगै २४ दिनसम्म घरभित्रै बसे। भरतपुर महानगरपालिका वडा नं.८ लालिगुराँस चोक घर भएका ढुंगानाको यो २४ दिन पूरै तनावमा बित्यो। दाजुलाई सङ्क्रमण भए पनि आफूसहित परिवारका अन्य सदस्यमा सङ्क्रमण नदेखिएको उनले बताए। ‘दाजुलाई लक्षण नदेखिएकाले रोगका कारण नभएर समाजका कारण हामीलाई तनाव सिर्जना भयो,’ उनले भने। घरमा बाहिरबाट तयारी खाना कसैले ल्याइदिँदै गर्दा स्थानीयले प्रहरीलाई खबर गर्ने गरेको उनले सुनाए। ‘केही छिनमा प्रहरी आइपुग्थे,’ उनले भने, ‘मानौँ कि हाम्रो घर कुनै अपराधीको घर हो। कहिलेकाहीँ त यस्तो ठाउँमा किन घर बनाइएछ भने जस्तो पनि भयो, निकै पछुतो लाग्यो।’
कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन्। सामाजिक सञ्जालमा पनि यस्ता कार्यको व्यापक आलोचना हुने गरेको छ। तर मानिसको व्यवहारमा सुधार आउन सकेको छैन। कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरसम्म पुगिसके पनि सङ्क्रमित र उनका परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रवेश पाउन सकेको छैन।
शिक्षित र सम्भ्रान्त समुदाय बसोबास गर्ने समाजभित्रै सङ्क्रमितका परिवार पीडित बन्नुपर्ने अवस्था झन् बढ्दै गएको छ। त्यसो त चितवन जिल्लालाई शिक्षा र स्वास्थ्यका दृष्टिकोणले तराई तथा मधेशका अरु जिल्लाका तुलनामा अगाडि रहेको मानिन्छ। यही जिल्लाका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित भनिएका वर्गबाटै कोरोना भाइरस सङ्क्रमितका परिवारले पीडा खेप्न बाध्य भएको तीतो यथार्थ जीवितै छ।
चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष कमल पाठककी १०९ वर्षीया मावली हजुरआमाको कोरोना सङ्क्रमणबाट मृत्यु भयो। उनको स्याहारमा जुटेका सानीआमा, एक नातिनी र एक नातिनी ज्वाइँमा पनि सङ्क्रमण देखियो। पाठकको एकजना सानीआमा अहिले पनि भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उपचाररत छिन्। त्यसपछि त्यहाँ जोडिएका ६१ सदस्य १८ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्यो। परिवारले भोगेको पीडा यहाँ भनेर व्याख्या गर्न नसकिने कमल बताउँछन्। ‘क्वारेन्टिनको अवधि पार गरेर पिसिआर नेटेटिभ आउँदा पनि समाजमा घुलमिल हुन दिइएको छैन,’ खैरहनी ३ का स्थायीवासी पाठकले गुनासो गरे।
सानीआमालाई अस्पतालमा भएको गाह्रो आफैँमा पीडादायी भएको उनी बताउँछन्। आइसीयू कक्षबाहिरबाट बिरामी हेर्दै गर्दा मन भक्कानिने गरेको उनले सुनाए। अक्सिजन फाल्ने, शय्याबाट भुईंमा झर्नेजस्ता समस्या हुने गरेको भए पनि डर र त्रासका कारण त्यस्ता बिरामीले उपचार राम्रोसँग पाउन नसकेको उनले अनुभव सुनाए। ‘आफन्त गुमाउँदाको पीडा, बिरामीको पीडा त छँदैछ, समाजले दिने पीडा झन् ठूलो बनेको छ’ उनले भने।
भरतपुर महानगरपालिका वडा नं. २ निवासी अमिर रामदामको एकाघरमा बस्ने काकाको पनि कोरोना सङ्क्रमणबाटै निधन भयो। सँगै बसेका ७४ वर्षिय हजुरबुबामा पनि संक्रमण देखिएको छ। तर, यस्तो बेलामा पनि एक्लोपनाको महसुस भइरहेको रामदामले बताए। कतिपय आफन्तले फोन गर्दासमेत कोरोना सर्लाजस्तो गरेको उनले सुनाए। सीमित सम्पर्कमा आएकाहरुबाट रासनपानी मगाएर गुजारा चलाउने गरेको उनको भनाइ छ। ‘दुःखका बेला समाजले सहयोग गर्ला भन्ने आशा थियो, तर नपाइने भएपछि निराश भइयो,’ उनले भने। नेपाल पत्रकार महासङ्घ चितवनका कार्यसमिति सदस्यसमेत रहेका रामदामले समाजलाई बुझाउन नसक्दा समस्या हुने गरेको बताए। ‘समाजले अझै पनि रोग कसरी सर्छ भन्ने राम्रोसँग बुझेको छैन,’ उनले भने।
कोरोना संक्रमणमुक्त भई काममा फर्किएका भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख एवम् स्त्रीरोग विशेषज्ञ डा सुनिलमणि पोखरेलको अनुभव पनि फरक रहेन। कोरोना सङ्क्रमण देखिँदै गर्दा परिवारलाई निकै पीडा भएको उनले बताए। रोगका बारेमा बुझिनसकेकै कारण समाजमा त्रास जीवीजै रहेको उनको भनाइ छ। शुरुका दिनमा एचआइभी एड्स सङ्क्रमितलाई जुन रुपमा हेरिन्थ्यो, अहिले त्यही ढङ्गबाट कोरोना सङ्क्रमितलाई हेर्ने गरेको उनले बताए।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीलाई पनि परिवारसँग छुट्टिएर काठमाडौँबाट चितवन आएसँगै सङ्क्रमण देखियो। आफूलाई संक्रमण पुष्टि भएको थाहा पाएपछि श्रीमती शीलाले शुरुका दिन निकै पीडामा बिताएको उनले बताए। आफूलाई लक्षणसमेत देखिएकाले केही भइहाल्छ कि भन्ने आफूमा पनि चिन्ता भएको उनले अनुभव सुनाए। विश्वभरको तथ्याङ्क हेर्दा ४० देखि ६० वर्षका मानिस कोरोनाबाट बढी प्रभावित भएको देखिन्छ। क्रमशः लक्षण हराउँदै जाँदा पीडा पनि कम हुँदै गएको उनले बताए। श्रीमती र छोराछोरी काठमाडौँ छन्। बुबाआमा भने चितवनकै घरमा छन्। तर परिवारका कसैलाई पनि सर्न नपाएकोले परिवारका अन्य सदस्य भने सुरक्षित नै रहेको उनको भनाइ छ।
कोरोना सङ्क्रमित भएर आइसोलेसनमा रहरेका पत्रकार रमेशचन्द्र बस्ताकोटीकी श्रीमती सिर्जनाले पनि कोरोना सङ्क्रमित र उनका परिवारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा यसले सङ्क्रमितको मनोबल झन् घट्दै गएको अनुभव सुनाइन्। ‘समाजमा अझै चेतनास्तरको विकास हुन सकेको छैन, कोरोना सङ्क्रमितको परिवारलाई हेय भावले हेर्ने र उनीहरुलाई समाजमा नै एक किसिमले बहिष्कार गर्ने प्रवृत्ति देखिएको छ,’ उनले भनिन्, ‘यो सबैभन्दा खतरनाक हो।’ आफ्नो श्रीमान् कर्तव्य पालना र कामकै सिलसिलामा सङ्क्रमित भएको उनले बताइन्। तर, समाजले गर्ने व्यवहारबाट जोसुकै सङ्क्रमितका परिवार पनि हतास भएको उनको बुझाई छ। ‘सङ्क्रमितको परिवारसँग बोल्दैमा, उनीहरुको घरको बाटो हिँड्दैमा कोरोना सर्ला भन्ने मनोविज्ञानबाट मानिसहरु ग्रसित छन्,’ उनले भनिन्, ‘मानिसबाट यस्ता त्रास हटाउन जरुरी छ।’
भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरका वसन्त पराजुलीको अनुभव भने केही फरक छ। समाजबाट सकारात्मक सहयोग पाएको उनले बताए। आफ्नै घरको भुईँतलामा भाडामा बस्ने तीनजनामा सङ्क्रमण देखिएपछि पराजुली परिवार पनि घरमै सुरक्षित बसिरहेको छ। पिसिआर रिपोर्ट नआउँदासम्म आवश्यक सामग्री छरछिमेकीले घरको गेटसम्म ल्याइदिएर सहयोग पुर्याएको उनको भनाइ छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सावधानी सबैले अपनाउनु पर्ने तर त्रसित् हुन नपर्ने बताउँछन्। सङ्क्रमितले ह्याछ्यु गर्दा, खोक्दा निस्कने छिटाबाट रोग सर्ने हुँदा दुई मिटरको दूरी कायम गर्ने, मास्क लगाएर मात्रै हिँड्ने, समय समयमा साबुनपानीले हात धोइरहने गरेमा रोग सर्नबाट बच्न सकिने उनले बताए। सामान्य लक्षण र लक्षण नभएका घरमै सुरक्षित तरिकाले बस्न सकिने भएकाले टोल, समुदाय आत्तिनु नपर्ने उनको भनाइ छ। ‘सङ्क्रमितलाई प्रोत्साहन दिऔँ, हतोत्साहित नबनाऔँ,’ उनले भने, ‘टाढाबाट र हावाबाट रोग नसर्ने भएकाले त्रसित हुनुपर्दैन।’ घरमै रहेका सङ्क्रमितलाई समय समयमा ध्यान दिने, कपडा र प्रयोग भएका वस्तुलाई सर्फ पानी, क्लोरिन आदिले सफा गर्ने गरेमा अरुलाई सर्नबाट बचाउन सकिने उनले बताए।
घरमा बसेका सङ्क्रमित बढी सुरक्षित हुने गरेको उनले बताए। कोरोना सङ्क्रमित र सङ्क्रमितको परिवारलाई सुरक्षा सावधानी अपनाउँदै आवश्यक सहयोग र प्रोत्साहन गर्नतर्फ सबै लाग्न आवश्यक रहेको उनले बताए। हालसम्म चितवनमा कोरोना भाइरसबाट १ हजार ५२ जना सङ्क्रमित भएका छन्। तीमध्ये २५३ जना निको भएर घर फर्किएका छन् भने ७८७ जना उपचाररत छन्। जिल्लामा मात्र १२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। तर विभिन्न जिल्लाबाट उपचार गराउन आएकासमेत गरी हालसम्म चितवनमा २२ जना सङ्क्रमितको मृत्यु भएको छ। – रासस


























