चितवन, भदौ २२ । नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ। करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भए पनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँको पर्यटन थला परेको व्यवसायीहरु बताउँछन्।
जारी निषेधाज्ञा भन्दाअघि सौराहाका केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै यहाँको स्थानीय तहले यस क्षेत्र ‘सिल’ गरेको थियो। अहिले सौराहा कोरोनामुक्त भइसकेको छ। चैतको दोस्रो सातादेखि नै यहाँका होटल तथा रेष्टुराँहरु बन्द भएका छन्।
कोभिड–१९ को त्राससँगै फाट्टफुट्ट मात्र अन्तरिक पर्यटक आउने गरेका थिए। बेमौसम (अफसिजन) को समयमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकले धानिदै आएको सौराहामा लामो समयको बन्दाबन्दीले गर्दा यहाँका व्यवसायीहरु निराश बनेका छन्। सौराहामा असारदेखि असोजसम्मको समय अफसिजनका रूपमा लिइन्छ। व्यवसायभन्दा पनि स्वास्थ्य ठूलो भएको भन्दै असोजसम्म नै होटल बन्द गर्ने निष्कर्षमा पुगेका होटल व्यवसायीहरू बैंकको कर्जाका कारण चिन्तित बनेका छन्।
पर्यटन व्यवसायी टीका गिरीले पर्यटन व्यवसायको अम्दानीलाई नै आयस्रोत देखाएर बैंकबाट कर्जा लिएको बताए। पर्यटक नभएपछि अहिले सबैजसो होटल तथा रेष्टुराँहरुमा ताला लागेको उनको भनाइ छ। बैंकको ब्याज तिर्न नसक्दा ठूलो मर्का परेको छ, उनले भने। “राज्यले ब्याजमा छुट हुने भने पनि त्यसो भएन। कर्जाका कारण पर्यटनका संरचना जोगाएर राख्नै कठिन भयो।”
बैंकबाट कर्जा लिएर पर्यटन संरचना बनाई रहेएका व्यवसायी नगेन्द्र चापागाईको पीडा पनि उस्तै छ। उनी अहिले एक पटक दुई हजार जना अटाउने सभाहल निर्माण गर्दै छन्। सभाहलको निर्माण कार्य त रोकिएको छ नै यो भन्दा चिन्ता उहाँलाई बैंकको ब्याज भएको छ। पर्यटन व्यवसायीलाई राज्यले राहत दिनुपर्ने उन बताए। “यति लामो समयसम्म बन्दाबन्दी हुन्छ भन्ने सोचेका थिएनौँ”, उनले भने, “कोरोनाले अझै केही समय पर्यटक आउने वातावरण नबन्ने भएकाले यहाँको पर्यटन थला परिसकेको छ। कतिपय व्यवसायी साथीहरु होटल बिक्री गर्नेसम्म पुगेका छन्।”
अर्का व्यवसायी रमेश दाहाल कोरोनाले अति प्रभावित भएको क्षेत्र पर्यटन भएको बताए। सरकारले ब्याजमा छुट गर्न बैंकहरुलाई आह्वान गरेसँगै चैत, वैशाख र जेठ महिनामा दुई प्रतिशत छुट पाएको उनको भनाइ छ। असारदेखि बैंकहरुले कुनै छुट नदिएपछि व्यवसाय थप धराशीय बनेको बताए।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटन वर्ष २०२० मा चितवनमा मात्रै चार लाख पर्यटक भित्र्याउने गरी बैंकबाट कर्जा लिई संरचना निर्माण काम थालिएको बताए। “अहिले बैंकबाट आउने ताकेताले मानसिक असर परेको छ”, उनले भने, “न साँवा फिर्ता गर्न सक्छौ, न त ब्याज नै। होटल खोलेर मात्रै पनि भएन। अहिले पर्यटक आउने सम्भावना नै छैन।”
विद्युत्को महसुल बुझाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको उनले बताए। विद्युत् महसुल बुझाउन नसकेपछि विद्युत् प्राधिकरणले लाइन काट्न शुरु गरेको उनको भनाइ छ। थला परेको यहाँको पर्यटन व्यवसाय उठ्न करिब दुई वर्ष लाग्ने उनले बताए। नेपालको तेस्रो पर्यटकीय क्षेत्रको रुपमा परिचित सौराहामा साना ठूला गरी १२० वटा होटल तथा ५७ वटा रेष्टुराँ रहेका छन्। रासस


























