मुम्बई, भदौ २२ । आइतबार बिहान मात्र बलिउड नायक अर्जुन कपुरले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका थिए। उनले, कोरोना संक्रमण देखिएपछि आफू होम क्वारेन्टाइनमा बसेको पनि बताएका थिए।
अर्जुनलाई कोरोना पुष्टी भएको केही घन्टापछि बलिउड नायिका मलाइका अरोरालाई पनि कोरोना पुष्टी भएको छ। मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा छन्। रियालिटी शो ‘इन्डियाज बेष्ट डान्सर’का निर्माता रंजित शर्माले भारतीय मिडियासँग कुरा गर्दै मलाइकालाई कोरोना पुष्टी भएको बताएका छन्। उनले, मलाइकालाई कोरोना देखिएपछि बुधबारसम्मलाई शोको छायांकन रोकेका पनि बताएका छन्। यो शोको मेकरले अब अन्य २ निर्णायकलाई राखेर शोको छायांकन गर्ने तयारी गरेको छ।
मलाइकाको स्वास्थ्य अवस्थाको बारेमा केही पनि बताइएको छैन। उनी, पनि होम क्वारेन्टाइनमा नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
केही हप्ता अगाडि मात्र नायक अमिताभ बच्चन, अभिषेक बच्चन र नायिका ऐश्वर्या राय कोरोनाबाट मुक्त भएका थिए। भारतमा दैनिक ९० हजारसम्म कोरोना संक्रमित देखिएपनि बलिउड मेकरले सुरक्षा विधी अपनाएर छायांकन सुरु गरेका छन्।


























