भदौ २० । बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा जलेर कयौँ व्यक्तिहरू घाइते भएका छन्।
बंगलादेशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो। डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन्। त्यसमध्ये ३५ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन्। स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो।
अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ वटा एयर कन्डीसनरमा आगलागी भएको बताएका छन्। घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थना गरिरहेको बताइएको छ। एजेन्सी


























