मोरङ, भदौ २० । मोरङको विराटनगरका दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जना महिलाको शुक्रबार साँझ मृत्यु भएको हो।
कोशी अस्पतालमा शुक्रबार साँझ साढे ७ बजे मृत्यु भएकी महिलाको आज बिहान ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए।
विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो। उनको शुक्रबार साँझ ७स्३० बजे मृत्यु भएको थियो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६स्३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए छ।
श्वासप्रश्वासमा समस्या भएपछि न्यूरो अस्पताल विराटनगरले उनलाई यही भदौ १८ गते धरान रेफर गरेको थियो।


























