चितवन भदौ १८ । चितवनमा तीनजना कोरोना संक्रमितले प्लाज्मा दान गरेपछि प्लाज्मा बैंक स्थापना भएको छन्। कोरोना संक्रमणबाट मुक्त भएका तीनजनाले बिहीबार भरतपुर अस्पतालस्थित क्षेत्रिय रक्तसञ्चार केन्द्रमा प्लाज्मा दान गरेर प्लाज्मा दान कार्यक्रमको शुरूवात गरिएको हो। चितवनमा पहिलोपटक प्लाज्मा दान कार्यक्रम शुरू भएको हो। जटिल खालका कोरोना संक्रमितको उपचारको लागि प्लाज्मा थेरापी आवश्यक पर्ने हुँदा प्लाज्मा दान कार्यक्रम शुरू गरिएको भरतपुर अस्पतालले जनाएको छ।
चिकित्सकका अनुसार कोरोना संक्रमितले निको भएर अस्पतालबाट डिस्चार्ज भइपछिको १४ दिनपछि प्लाज्मा दान गर्न सकिन्छ। एकजनाले गरेको प्लाज्मा दानबाट तीनजनालाई बचाउन सकिने चिकित्सकहरू बताउँछन्। योसँगै चितवनमा नियमित प्लाज्मा थेरापी शुरू भएको हो। क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार बिहीबारबाट शुरू भएको प्लाज्मालाई स्टक राख्न सके आवश्यक पर्नेबेला प्रयोग गर्न सकिन्छ। त्यसको लागि स्वेच्छिक व्यक्तिले रक्तदान गरेर मानवीय सेवा गर्न आग्रह गरिएको छ।


























