मुम्बई, भदौ १४ । महेश भट्ट निर्देशित फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ। फिल्ममा आलिया भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त मुख्य भूमिकामा छन्। यो फिल्म घोषणाको समयदेखि चर्चामा थियो। सुशान्त सिंह राजपूतको निधनपछि भने सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको माग उठेको थियो। ट्रेलरलाई सर्वाधिक डिसलाइक मिल्नु यसैको उपज हो।
सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मलाई लिएर लगातार नेगेटिभ ट्विट्स गरिरहेको अवस्थामा यो फिल्मलाई अजय देवगनको ‘हिम्मतवाला’, सैफ अली खानको ‘हमशक्ल’ र रामगोपाल वर्माको फिल्म ‘आग’ भन्दा पनि कम रेटिङ मिलेको छ। फिल्मलाई अहिलेसम्मकै खराब रेटिङ मिलेको भारतीय मिडियाले बताएका छन्। आइएमडीबीमा फिल्मलाई जम्मा १/१ रेटिङ मिलेको छ।
समीक्षकबाट पनि फिल्मलाई कमजोर रेटिङ प्राप्त छ। समिक्षक तरण आदर्शले १ रेटिङ दिँदै फिल्मलाई खराब भनेका छन्। यो फिल्म अगष्ट २८ बाट डिज्नी प्लस हटस्टारमा रिलिज भएको हो। ‘सडक २’ १९९१ मा आएको पूजा भट्ट र सञ्जय दत्त स्टारर ‘सडक’ को सिक्वेल हो। कोरोनाका कारण सिनेमा हल खुल्ने कुनै निश्चित नभएपछि यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको हो। एजेन्सी


























