सिन्धुपाल्चोक, भदौ १३ । बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा साउनयता मात्रै कम्तीमा ७८ जनाको मृत्यु भइसकेको छ। कयौँ मानिस घरबारविहीन बनेका छन्।
पहिरोकै कारण बजार क्षेत्रको बस्ती नै जोखिममा परेपछि पाँच पोखरी थाङपाल–८ तिपेनीका स्थानीय सुरक्षित स्थान र सहाराको पर्खाइमा छन्। टेण्टभन्दा अरु केही नभएकाले सुरक्षित बास नहुँदा रातभर अनिदो बस्नु परेको तिपेनीका चन्द्रकुमारी श्रेष्ठको गुनासो छ। उनी जस्तै तिपेनीका १९ घर परिवार अहिले पालमुनी रात बिताउन बाध्य छन्। साउन १८ गते आएको पहिरोले घर पुरिएका छन् भने पाँचपोखरी पर्यटन मार्गको मुख्य सडक अबरुद्ध छ। दुई सय मिटर भन्दा माथिबाट खसेको पहिरोका कारण बिस्थापित बनेका अर्का स्थानीय बलराम धितालले सुरक्षित ठाउँमा स्थानान्तरणको माग गरेका छन्।
पहिरोका कारण विस्थापित बनेका स्थानीयले प्रतिघर एक थान टेण्ट बाँडेर गाउँपालिका पन्छिएको बताएका छन्। वैकल्पिक बाटो खोलेपछि जोखिमयुक्त घरमा थप क्षति हुन नदिन पालिकाले कुनै पहल नगरेको स्थानीय भक्तबहादुर खत्रीले गुनासो गरेका छन्।
घरमाथिबट निरन्तर पहिरो खसिरहेपछि सुनकोसी(६ धुसेनिका स्थानीय ईबहादुर भन्डारी छिमेकीको घरमा आश्रय लिँदै आएका छन्। तत्काल सुरक्षित स्थानमा बासस्थान व्यवस्था गर्न उनले आग्रह गरेका छन्। “तीन बन्डल जस्तापाता पाउनसके सुरक्षित ठाउँमा टहरो बनाएर बस्ने थिएँ,” उनले भने।
पहिरोले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयले पनि जीउधनको रक्षा गरिदिन आग्रह गरेका छन्। गतसाल पनि त्यहाँ पहिरो गएको थियो। आफूहरु अन्यत्र जान नसक्ने अवस्थाका कारण गतवर्ष जसोतसो बसेको भन्दै यसपटक भने गाउँमा बस्नै नसकिने अवस्था निम्तिएको स्थानीयले सुनाए। तत्कालका लागि आफूहरुलाई अस्थायी बासस्थान व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका हुन्।
अविरल वर्षापछि आएको पहिरोले मेलम्ची नगरपालिका-१० शिखरपुरका १५ घर जोखिममा छन्। स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुन्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालसहितका १५ घर पहिरोको जोखिममा परेका हुन्। “अविरल वर्षा हुँदा घर बगाउँछ कि भनेर हामी रातभर जागा बस्न थालेका छौँ,” स्थानीय राजु दाहालले भने, “आँगन पहिरोले लगिसक्यो घर कुन दिन लैजाने हो !”
सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिरोको जोखिममा रहेको बताइएको छ। पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्याङ्क आएको हो। तथ्याङ्कका आधारमा गाउँपालिका भोटेकोशीमा ४९ र बलेफीमा १४ तथा नगरपालिका बाह्रबीसे २३ र चौतारा साँगा चोकगढी नगरपालिकामा चार बस्ती जोखिममा छन्।
त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसङ्खुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।
प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको बताइएको छ।
अतिजोखिममा रहेका जुगल र बाह्रबीसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिएको र अन्य पनि गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्। ढकालका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने छ।
त्यस्तै बाह्रबीसे गाउँपालिकामा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ। पहिरोको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घर परिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ। रासस