काठमाडाैँ । नेपाल आइडल सिजन-३ काे उपाधी माेरङ पथरीकी सज्जा चाैलागाईँले उचालेकी छन्। शुक्रबार राति भएकाे ग्राण्ड फिनालेमा उपाधी चुम्दै सज्जाले नगद ५० लाख रुपैयाँ पुरस्कार जितेकी छन्। यस्तै फर्स्ट रनरअप हुन सफल बर्दिया राजापुरका प्रवीण बेडवालले नगद १० लाख रुपैयाँ हात पारेका छन् भने महाेत्तरी बर्दिबासका किरण भुजेलले सेकेन्ड रनरअप हुँदै नगद ५ लाख रुपैयाँ पुरस्कार हात पारेका छन्। काेराेना भाइरसकाे उच्च जाेखिमका बीच चलिरहेकाे नेपाल आइडल सिजन-३ काे नेपाल आइडलकै स्टुडियाेबाट अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नतिजा घाेषणा गरेका थिए।
बिजेता घाेषणापछिका कार्यक्रम सबै स्थगित गर्नुपर्ने अवस्था आएपछि क्याप्टेन थापाले सामान्य तरिकाबाटै तीनजनाकाे नतिजा सुनाएका हुन्। नेपाल आइडल सिजन-३ काे अन्तिम नतिजा आउनै लाग्दा आइडलका निर्माण टिमका एकजनामा काेराेना भाइरस संक्रमण पुष्टि भएपछि कार्यक्रम छाेट्याउन बाध्य भएकाे उनले बताए। निर्माण टिमकै सदस्यमा काेराेना पुष्टि भएपछि नेपाल आइडलका तीनैजना जजहरु तत्काल मञ्चबाट बाहिरिएका थिए। अहिले उनीहरु आइसाेलेसनमा गएका छन्।