चितवन । युवा व्यवसायी एवम् सामाजिक अभियन्ता कृष्णबहादुर गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत ६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेका छन्। इच्छाकामना गाउँपालिका ३ चैबुङकी १९ वर्षीय शर्मिला गुरुङकाे उपचारकाे लागि उनले फेसबुकमार्फत रकम संकलन गरेका हुन्। देश तथा विदेशमा रहेका ६९ जना नेपालीबाट ६ लाख १० हजार ६८२ रुपैयाँ संकलन भएकाे उनले बताए।
शर्मिला विगत चारवर्षदेखि उपचाररत छिन्। दुवै मिर्गाैला काम नलाग्ने अवस्थामा पुगेपछि घरकाे जायजेथा बेचेर पनि उपचार सम्भव नभएका कारण सहयाेगकाे लागि याचना गरेका थिए। साेही आधारमा पाेल्ट्री व्यवसायी कृष्णबहादुरले फेसबुकमार्फत सहयाेगकाे लागि आह्वान गरेका थिए। संकलित सबै रकम मिर्गाैला पीडित शर्मिलाकाे उपचारमा खर्च गरिनेछ। हाल शर्मिलाले हप्तामा दुईपटक भरतपुरस्थित पुरानाे मेडिकल कलेजबाट डायलासिस गर्दै आएकी छन्।
चिकित्सकले मिर्गाैला नै फेर्नुपर्ने बताएपछि खर्च अभावमा हरेश खाएर बसेका पीडित परिवारमा सहयाेग जुटेपछि उपचार पाउने आशा पलाएकाे छ। देश तथा विदेशमा रहेका नेपालीबाट सहयाेग पाएपछि छाेरीकाे उपचार गरेर सामान्य अवस्थामा फर्किन सक्ने सम्भावना प्रवल बन्दै गएकाे शर्मिलाकी आमा लालमायाले बताइन्।


























