चितवन, चितवनमा निषेधाज्ञा जारी भएको आज दश दिन पुगेको छ। निषेधाज्ञा जारी भएसंगै यसको उल्लङ्घन गर्नेहरुलाई कारवाहि गर्न थालिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार जनालाई कारवाहि गरीएको छ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अवज्ञा गर्दै हिड्नेहरुलाई कारवाहि गरेको हो। उनका अनुसार कारवाहिमा पर्नेमा ५० प्रतिशत मोटरसाइकल रहेका छन्। विभिन्न वहनामा वजार निस्कन खोज्ने उनीहरुलाई कारवाहि गरिएको हो। कारवाहि स्वरुप १ सयदेखि ५ सयसम्म जरिवाना गरिएको छ। यस्तै विहान वेलुकाको समयमा पैदल हिड्ने ३० प्रतिशत हाराहारी रहेका छन्। अटेर गर्नेहरुबाट प्रहरीले रु ६ लाख २८ हजार राजस्व समेत अशुल गरेको जनाएको छ।
उनले भने “विभिन्न वहना वनाएर निषेधाज्ञाको अवज्ञा गर्न निस्कने, सवारी चालक, पैदल यात्री र साईकल यात्री सबैलाई कारवाही गरिएको छ।” काम बिनानै निस्कनु रोगको जोखिम मोल्नुभएको भन्दै उनले निषेधाज्ञाको पालना सबैले गर्न जरुरी रहेको कार्यालयले जनाएको छ।
कार्यालयले जिल्लाका बिभिन्न स्थानमा आकस्मिक चेकजाँच, नियमित चेकजाँच गर्दै आएको छ। स्थानीय प्रशासनले कोरोना सङ्क्रमण वढ्दै गए पछि गत साउन ३० गते मध्य रातबाट भरतपुर महानगरपालिका, साउन ३२ गते मध्यरातबाट माडी नगरपालिका वाहेकका स्थानीय तह र यही भदौ पाँच गतेबाट जिल्ला भर निषेधाज्ञा जारी गरेको हो। दोस्रो चरणको निषेधाज्ञा जारी भईरहेको समयमा जिल्लामा कोरोना सङक्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। आजसम्म जिल्लामा ३ सय ४५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। ती मध्ये तीन जनाको अकालमा मृत्यु भएको छ। रासस


























