हेटौंडा, भदौ ८ । कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरिएको छ।
यसअघि साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो। हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
संक्रमण दर बढ्दै गएपछि मनहरी गाउँपालिका र थाहा नगरपालिकासहित स्थानीय तहले पनि निषेधाज्ञा लगाएका छन्।
पहिलो पटक थप गरिएको निषेधाज्ञा भोली मंगलबार राती १२ बजे सम्म कायम रहने थियो। सोमबारको बैठकले भदौ ९ गते राती १२ वजेबाट १५ गतेसम्म निषेधज्ञालाई अहिलेकै अवस्थामा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गड्तौलाले जानकारी दिए।
सूचना अधिकारी गड्तौलाका अनुसार निषेधाज्ञाको समयमा अर्को बैठक बस्न सक्नेछ। सो बैठकमा व्यवसाय र जनजीवन खुला गर्ने मोडलमा छलफल भइ केही निर्णय हुन सक्ने उनले बताए। हेटौडा लगायतको मकवानपुर जिल्लामा कोरोना संक्रमणको जोखिम कम नभइ बढ्दै गएको र कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुकको अझैपनि स्वाब परीक्षण भैनसकेको कारण १५ गतेसम्मलाई निषेधज्ञा थप गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए।
निषेधज्ञाको क्षेत्र हेटौँडाको सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने राजमार्गको क्षेत्रहरु हुनेछन्।
यसै बीच हेटौँडामा निषेधाज्ञा थप भएसँगै बैंक तथा वित्तिय सस्था पनि बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यलय मकवानपुर निषेधाज्ञाको अवधीमा बैंक तथा वित्तिय सस्थालाई समय तोकेर खोल्ने तयारी गरेको थियो। छिमेकी जिल्लामा समेत निषेधाज्ञा रहेको र त्यहाँ बैंक तथा वित्तिय सस्था समेत बन्द रहेकोले मकवानपुरका बैंकमा सेवाग्राहीको चाप बढी कोरोनाको जोखिम बढ्ने भन्दै हेटौँडामा पनि बैंक तथा वित्तिय सस्थालाई बन्द गरिएको बताइएको छ।


























