भदौ, ८ । उत्तर कोरियाली तानाशाह किम जङ उनबारे फेरि एकपटक दुःखद खबर आएको छ। उनी अस्पताल भर्ना भएको र कोममा गएको बताइएको छ। अब उनकी बहिनी किम यो जङले नै उत्तर कोरियाको नेतृत्व सम्हाल्ने तयारी गरेको पनि अन्तर्राष्ट्रिय मिडियामा समाचार आएका छन्।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डेई जङका एक पूर्वसहयोगी चाङ सङ मिनले उत्तर कोरियाली नेता किम कोममा गएको भन्दै सामाजिक सन्जालमा लेखेका छन्। उनका अनुसार किम कोमामा नै भएकाले दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्धबारे काम गर्न उनकी बहिनीलाई जिम्मेवारी दिइएको हो।
चाङ साङका अनुसार उत्तर कोरियामा अहिलेसम्म कुनै पनि नेताले गम्भीर बिरामी नभएसम्म आफ्नो जिम्मेवारी अरुलाई सुम्पिने गरेका छैनन्। कोरिया हेराल्डलाई एक अन्तर्वार्ता दिँदै चाङले अहिले किम कोमामा भए पनि उनको मृत्यु चाहिँ नभइसकेको दाबीसमेत गरेका छन्। एजेन्सी


























