काठमाडौं, भदौ ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) का बिरामी भर्ना लिँदा मन्त्रालयको सिफारिस लिन र समन्वय गर्न निर्देशन जारी गरेको छ।
स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार जारी गरेको निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको एचइओसी (हेल्थ इमजेन्सी अपरेशन सेन्टर) टिमसँग सिफारिस लिनुपर्ने र समन्वय गर्नुपर्नेछ।
निर्देशनमा भनिएको छ ‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचइओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ।’
यस्तो सिफारिस र समन्वयका लागि चित्सकको नाम र फोन नम्बर पनि दिइएको छ। यसैगरी, एचइओसी कल सेन्टरका नम्बरहरू पनि दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचारका लागि खास अस्पतालहरू तोकेको छ।



























