चितवन, भदौ ६ । लोथरमा खोलाले बगाएर एक जना बालिकाको मृत्यु भएको छ। राप्ती नगरपालिका–१३ मा पर्ने सो ठाउँकी १२ वर्षीया सम्झना चेपाङको शुक्रबार निधन भएको हो।
स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले दिएको जानकारीअनुसार उनी शुक्रबार आमा सुनिता चेपाङसँग मकै भाँच्न नजिकैको अर्को गाउँ खेताला गएकी थिइन्।
‘मकै भाँचेर साँझ साढे ५ बजेतिर घर फर्कन लाग्दा एउटा सानो खोलो तर्ने क्रममा आमा छोरी दुवैजना बगेका रहेछन्। केही तल गएर आमा निस्किइन्। तर छोरी तलै बगेकी रहिछन्। गाउँलेहरुले खोज्दा राति नौ बजेतिर उनको शव बगेको ठाउँभन्दा लगभग तीन सय मिटर तल रहमा भेटिएछ,’ प्रधानाध्यापक थपलियाले भने।
उनी कादेश्वरी विद्यालयमा गएको शैक्षिकसत्रमा कक्षा ५ मा पढ्ने र पढाइमा तेज विद्यार्थी भएको थपलियाले बताए।
घटनाको विषयमा सूचना आए पनि थप कुरा बुझ्दै गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशील पाण्डेले बताए।


























