वीरगञ्ज, भदौ ५ । कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ।
वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए।
मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ। उनका आफन्तले रेमडेसिभर औषधी ल्याउन खोजेपनि सकिरहेका थिएनन्।
नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन्।
Facebook Comments


























