बेइजिङ, भदौ ५ । चीनको राजधानी बेइजिङका बासिन्दा अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ। सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले बिहीबारदेखि अर्को व्यक्तिसँग नजिकै जानुपर्दा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो।
बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबारदेखि नयाँ नियम लागू गरेको हो। कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ। केही दिनअघि मात्रै हुबेईको वुहानमा एउटा स्विमिङ पुलमा भएको पार्टीमा सयौं मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप २२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। बेइजिङमा भने पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छैन।
नयाँ नियमअनुसार बेइजिङमा अरु मानिससँग एकदमै नजिक (क्लोज कन्ट्याक्ट) मा जानुपर्ने भए मात्रै मास्क लगाउनुपर्ने छ। बालबालिकालाई भने अभिभावकको निगरानीमा लिएर हिँड्नुपर्नेछ। सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ।
यसअघि बुधबार चिनियाँ अधिकारीहरुले करिब ४ महिनादेखि कोरोना संक्रमणबाट चीनमा कसैको पनि मृत्यु नभएको बताएका थिए। एजेन्सी


























