काठमाडौं, भदौ ५ । उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ।
बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ। समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ।
समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपियाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपियाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपियाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपियाँ भएको छ। यस अवधिमा करेला प्रतिकेजी २२ रुपियाँबाट ३० रुपियाँ, तामा प्रतिकेजी ९० रुपियाँ थोक मूल्यबाट ११० रुपियाँ पुगेको छ। यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपियाँ थोक मूल्य बढेर ११० रुपियाँको पुगेको समितिले जनाएको छ। यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ। एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ।


























