काठमाडौं, भदौ ५ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबारसम्म ३० जनाको शव फेला परेको छ।
बेपत्तामध्ये बिहीबार ६ जनाको शव फेला परेको छ। ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीया विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ, १८ वर्षीया ललिता दोङ, ४४ वर्षीया हिरा दोङ झाँक्री र २४ वर्षीय सङलामु पाख्रिन दोङको शव बिहीबार फेला परेको डीएसपी माधवप्रसाद काफ्लेले बताए। ९ जनाको अझै पत्ता लागेको छैन।
बाढीपहिरोले सडक बगाएपछि एक्साभेटर लैजान नसक्दा अहिले सेना, सशस्त्र र नेपाल प्रहरी गरी ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बेपत्ताको खोजी गरिरहेको छ। एक सय ७२ घर रहेको लिदिको बस्तीमा गत शुक्रबार बिहान साढे ६ बजेतिर पहिरो खसेको थियो।
घटनामा १३ घर पूर्ण क्षति भएका छन् भने ३७ घरमा आंशिक क्षति पुगेको थियो। पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए। पहिरोले विस्थापित १ सय ३५ परिवार अहिले छिमेकी गाउँमा त्रिपाल टाँगेर बसेका छन्। बेपत्ताको खोजीका लागि स्थानीय सामग्रीले मात्रै सम्भावना नदेखिएपछि एक्साभेटर ल्याउने तयारी गरिएको डीएसपी काफ्लेले बताए।


























