काठमाडौं, भदौ ४ । बैंकका कर्मचारीलाई प्रहरीले अवरोध नगर्ने भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका अनुसार भोलि (शुक्रबार) बाट बैंकका कमर्चारीलाई परिचयपत्रका आधारमा छाडिने बताए। ‘‘प्राइभेट सवारीसाधनमा आउने सबैलाई चेक हुन्छ तर बैंकको परिचयपत्र देखाएपछि छाड्ने निर्णय भएको छ,’’ उनले भने।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले हिजो (बुधबार) राति १२ बजेदेखि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो। तर बैंकका कर्मचारीलाई भने बैंकको परिचयपत्रका आधारमा आवजावत गर्ने दिन बताएको थियो।
जिल्ला प्रशासनको निर्णय र राष्ट्र बैंकको निर्देशनअनुसार बैंकर्स संघले प्रत्येक वाणिज्य बैंकले बढीमा ८ वटा शाखा खोल्ने निर्णय गरेको थियो। तर बिहीबार बिहान कार्यालय हिँडेका बैंकका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतलाई नै प्रहरीले रोकेपछि आक्रोशित बनेका बैंकहरूले काठमाडौं उपत्यकाका शाखा बन्द गरेका थिए।
प्रहरी प्रशासनले बैंकका कर्मचारीलाई नरोक्ने बताए पनि बैंकरले भने यसको कुनै जानकारी नआएको बताएका छन्।
प्रशासनले सहजीकरण गर्छ भने बैंक खोल्न तयार रहेको तर यस विषयमा औपचारिक जानकारी नआएको बैकर संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन्। ‘‘हामीले राष्ट्र बैंकसँग समन्वय गरिरहेका छौं, कुनै जानकारी आएको छैन, हामीलाई लिखित जानकारी चाहिएको होइन। अवरोध हुँदैन भनेर आश्वस्त बनाए हुन्छ,’’ उनले भने।


























